३१ भदौ, काठमाडौं / जेनजी आन्दोलनले पुराना पार्टी र तिनको नेतृत्वको औचित्य नै नरहेको भन्दै पुनर्गठनको बहस चलिरहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।
पार्टीभित्र केही समयदेखि रुपान्तरणको कुरा गर्दै आएका शर्मा जेनजी आन्दोलनपछि नेतृत्वको औचित्य नरहेको निष्कर्षमा पुगेका हुन् । जेनजी युवा आन्दोलनले सकारात्मक सन्देश दिएकाले पार्टी नेतृत्व अब परिवर्तन हुनुपर्ने उनको धारणा छ । यस विषयमा उनले पार्टी पंक्तिमा छलफल समेत चलाउन सुरु गरेका छन् ।
छलफलमा सहभागी एक कार्यकर्ताले नेता शर्मासँगको भनाइ उद्धृत गर्दै भने, ‘जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ, नयाँ नेतृत्व खोजेको छ, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ शर्माको भनाइ छ ।
भ्रष्टाचार र सुशासनका मागसहित जेनजी युवाहरुले सामाजिक सञ्जालमार्फत् अभियान चलाएर भदौ २३ गते काठमाडौंमा प्रदर्शन आयोजना गरेका थिए ।