
११ कात्तिक, काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओेलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकिनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ ।
अधिवक्ता प्रेमराम सिलवालले ओलीलाई स्थानहद तोक्नु गलत हो भन्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । पेश भएको रिट निवेदनमाथि अध्ययन चलिरहेको सर्वोच्चका एक कर्मचारीले जानकारी दिए । ‘रिट निवेदन पेश भएको छ । त्यसमाथि अध्ययन चलिरहेको छ । अध्ययनपछि दर्ता हुने नहुने टुंगो लाग्नेछ,’ ती कर्मचारीले भने ।
रिट निवेदन ओलीको तर्फबाट नभई सार्वजनिक चासोको विषय भनेर पेश भएको हो । सामान्यतया कुनै व्यक्तिलाई थुनामा राख्न वा स्थानहद तोक्ने सरकारी कदमविरुद्ध व्यक्ति स्वयंले कानुनी उपचार खोज्ने अभ्यास छ ।