
२५ भाद्र, सिराहा । सामाजिक सञ्जालमा यतिबेला एक भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ, जसले नेपालमा स्वास्थ्य सेवाको पहुँच र गरिबीको यथार्थलाई फेरि एकपटक उजागर गरेको छ।
भाद्र २४ गते राति करिब २ बजेर २९ मिनेट जाँदा सिराहास्थित गजेन्द्र नारायण सिंह अस्पतालको गेट बाहिर एक गर्भवती महिला फुटपाथमै बच्चा जन्माउन बाध्य भएको दृश्य अस्पतालको सीसीटीभी क्यामरामा कैद भएको देखिन्छ।
भाइरल भिडियो तथा सीसीटीभी फुटेजमा अस्पतालको गेटबाट एक गर्भवती महिला र उनका आफन्तजस्ता देखिने एक पुरुष बाहिर निस्किएको देखिन्छ। अस्पतालको मुख्य गेट अगाडि रहेको ट्रान्समिसन लाइन नजिक उनीहरू केहीबेर रोकिएको देखिन्छ। त्यसपछि थप दुई महिला त्यहाँ पुगेको दृश्य सीसीटीभीमा देखिएको छ।
प्रसूति पीडाले छटपटाएकी महिलालाई तत्काल अस्पतालभित्र सेवा नपाएपछि एक महिला र साथमा रहेका पुरुषले मोबाइलको बत्ती बालेर बाहिरै प्रसूति गराएको भिडियोमा देखिन्छ।
स्थानीयका अनुसार आर्थिक अभावका कारण अस्पतालमा बुझाउनुपर्ने रकम नभएकाले ती महिला अस्पताल बाहिरै जोखिमपूर्ण अवस्थामा बच्चा जन्माउन बाध्य भएकी हुन्। सरकारले निशुल्क प्रसूति सेवाको नीति लागू गरेको दाबी गर्दै आएको भए पनि उक्त घटनाले सेवाको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।
घटनापछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। नागरिकहरूले गरिब तथा विपन्न परिवारले आधारभूत स्वास्थ्य सेवा समेत सहज रूपमा प्राप्त गर्न नसक्नु दुःखद भएको प्रतिक्रिया जनाएका छन्।
उक्त घटनाबारे अस्पताल प्रशासन, स्थानीय सरकार तथा सम्बन्धित निकायको आधिकारिक धारणा भने आउन बाँकी रहेको छ।