
२६ भाद्र, काठमाडौं । आज भाद्र कृष्ण औंशी अर्थात् कुशेऔंशी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। हिन्दु धर्म संस्कार अनुसार यस दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा मनाउने गरिन्छ।
यस अवसरमा सन्तानहरूले आफ्ना बाबुप्रति सम्मान, श्रद्धा र कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको छ। साथै, दिवंगत पितृ तथा आफन्तजनहरूको आत्माको शान्तिको कामना गर्दै श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने गरिन्छ।
विशेषगरी काठमाडौंस्थित गोकरणेश्वर क्षेत्रमा देशका विभिन्न भागबाट आएका श्रद्धालुहरूले परलोक भएका आफ्ना बाबु तथा पितृहरूको सम्झनामा श्राद्ध कर्म गर्ने गरेका छन्। गोकरण क्षेत्र आज बिहानैदेखि श्रद्धालुहरूको भीडले भरिएको छ।
कुशेऔंशीका दिन विष्णुको प्रतीक मानिने ‘कुश’ घरमा भित्र्याउने प्रचलन पनि रहेको छ। ब्राह्मणद्वारा विधिपूर्वक ल्याइएको कुश घरमा राख्ने र वर्षभर विभिन्न धार्मिक तथा संस्कारजन्य कार्यमा प्रयोग गर्ने चलन रहिआएको छ।
धार्मिक मान्यता अनुसार कुशलाई भगवान विष्णुको प्रतीक मानिन्छ। त्यसैले पूजा, श्राद्ध, तर्पण तथा अन्य धार्मिक अनुष्ठानमा कुशको विशेष महत्व रहेको बताइन्छ।
कुशेऔंशीले जीवित बाबुप्रति सम्मान र दिवंगत पितृप्रति श्रद्धा व्यक्त गर्ने महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक सन्देश बोकेको पर्वका रूपमा परिचित छ।