
काठमाडौं । सरकारले तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री तथा वितरण स्थगित गरेको छ। अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधका कारण आगामी गहुँ बालीका लागि डीएपी मल अभाव हुन सक्ने भन्दै सरकारले यस्तो निर्णय गरेको हो।
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको कृषि विकास महाशाखाले १६ भदौमा पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई डीएपी मलको बिक्री तथा वितरण रोक्न निर्देशन दिएको छ।
मन्त्रालयका अनुसार इजरायल, अमेरिका र इरानबीचको युद्ध तथा होर्मुज नाकामा देखिएको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको आपूर्ति प्रभावित भएको छ। खरिद सम्झौता भइसकेको डीएपी मलसमेत समयमै नेपाल आइपुग्ने अवस्था कमजोर देखिएपछि गहुँ बालीका लागि मल अभाव हुन नदिन बिक्री रोक्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
यसै निर्णय कार्यान्वयन गर्न मन्त्रालयले ‘मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ को दफा १२ को उपदफा (६) मा रहेको व्यवस्थासमेत अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले अहिले धानबालीका लागि मुख्य रूपमा युरिया मल आवश्यक रहेकाले डीएपी मल गहुँका लागि जोगाएर राखिएको बताएका छन्।
उनका अनुसार भदौ र असोजमा धानबालीका लागि डीएपीको माग तुलनात्मक रूपमा कम हुन्छ। अहिले डीएपी वितरण गर्दा सहकारीमार्फत एग्रोभेटमा पुग्ने वा अनावश्यक रूपमा मौज्दात राख्ने जोखिम हुने भएकाले गहुँको सिजनमा अभाव हुन नदिन बिक्री रोक्ने निर्णय गरिएको हो।
हाल तराई–मधेसलगायत क्षेत्रमा धानको ‘टप ड्रेसिङ’ का लागि युरिया मलको माग बढी रहेको र त्यसको आपूर्ति भइरहेको कम्पनीले जनाएको छ।
प्रबन्ध सञ्चालक पोखरेलका अनुसार हाल कृषि सामग्री कम्पनीको गोदाममा २२ हजार ९१० टन युरिया मल मौज्दात छ। त्यस्तै, भारतलगायत विभिन्न देशबाट करिब ३३ हजार टन युरिया आउने क्रममा रहेको छ।
त्यसैगरी, कम्पनीको गोदाममा १४ हजार ६४५ टन डीएपी मल मौज्दात रहेको छ भने करिब १८ हजार टन डीएपी आउन बाँकी रहेको पोखरेलले जानकारी दिएका छन्।
मध्यपूर्वमा बढेको तनावका कारण विश्वव्यापी रूपमा रासायनिक मलको आपूर्ति प्रभावित भएको कम्पनीको भनाइ छ। होर्मुज नाकामा कडाइ तथा रेड सीमा हुथी विद्रोहीको आक्रमणका कारण पानीजहाजको रुट प्रभावित हुँदा मल समयमै नेपाल ल्याउन कठिन भइरहेको पोखरेलले बताएका छन्।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्राकृतिक ग्यासबाट उत्पादन हुने सल्फरको आपूर्ति घट्दा डीएपी उत्पादन क्षमता समेत प्रभावित भएको छ। यसका कारण डीएपीको मूल्य प्रतिटन एक हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ।
यता, युरियाको अन्तर्राष्ट्रिय मूल्य भने घटेर प्रतिटन करिब ५३० देखि ५५० अमेरिकी डलरको हाराहारीमा रहेको बताइएको छ।
अन्तर्राष्ट्रिय बजारमा युरिया तुलनात्मक रूपमा सहज रूपमा उपलब्ध भए पनि डीएपी पाउन कठिन रहेको र यसको माग उच्च रहेको कम्पनीले जनाएको छ