
धादिङ । धादिङको गजुरी गाउँपालिका–६, जहरेखेत पुलनजिकै बस र ट्रक एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब १०ः३० बजे पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँबाट धादिङबेँसीतर्फ आउँदै गरेको बा ४ ख ८६६७ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७४१४ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा धादिङको ज्वालामुखी गाउँपालिका–२ की ८० वर्षीया दिवाकुमारी दानी र ५० वर्षीया धनकुमारी केसी घाइते भएका छन्।
यस्तै, बसका सहचालक गल्छी गाउँपालिका–१ का १७ वर्षीय रामचन्द्र परियारको बायाँ आँखामा चोट लागेको छ। बस चालक नुवाकोटको विदुर नगरपालिका–७ का ३३ वर्षीय समियाल तामाङको दुवै खुट्टा र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुर्घटनाबाट बस र ट्रकको अगाडिको भागमा पूर्ण रूपमा क्षति पुगेको छ। दुर्घटनापछि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
प्रहरीले ट्रक चालक चितवनको भरतपुर महानगरपालिका–२९ का करिब ३५ वर्षीय कमल देवकोटालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।