२०८३ मंसिर ४, बिहिबार

एमाले कार्यकर्ता भेलामा भण्डारीको आग्रह– निराश नभई कमजोरी सच्याएर नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढौँ

एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

विद्या भण्डारीले भनिन्– एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन
एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

मंसिर, काठमाडौं ।** पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरेकी छन् ।

सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गर्दै भण्डारीले बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा यस्तो आग्रह गरेकी हुन् ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामलाई अस्थायी धक्काको संज्ञा दिँदै उनले हारबाट पाठ सिकेर कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताइन् ।

‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो,’ भण्डारीले भनिन् ।

गत वर्षको जेनजी आन्दोलन र निर्वाचनको परिणामले एमालेका नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको हुन सक्ने उनको भनाइ थियो ।

‘अहिले हामीले भोगेको धक्का अस्थायी हो । त्यसैले निराश भएर निष्क्रिय बस्ने होइन, विगतका अनुभव र ऐतिहासिक विरासतबाट शिक्षा लिँदै नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ उनले भनिन् ।

भण्डारीले विगतमा विश्व कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का व्यहोर्दा पनि एमालेले पलायनको बाटो नरोजेको स्मरण गरिन् ।

‘सन् १९९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का व्यहोरेको अवस्थामा पनि हामीले पलायनको बाटो रोजेनौँ, बरु आन्दोलनलाई थप लोकप्रिय, सशक्त र व्यापक बनाउँदै अघि बढ्यौँ,’ उनले भनिन् ।

गत निर्वाचनको परिणामलाई पनि सच्याउन सकिने विश्वास व्यक्त गर्दै उनले आगामी स्थानीय तहलगायत निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई आग्रह गरिन् ।

‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने मदन भण्डारीको भनाइ उद्धृत गर्दै उनले निकट भविष्यमा हुने निर्वाचनलाई ध्यानमा राखेर पार्टीका नीति, योजना र कार्यक्रम जनतासमक्ष पुर्‍याउनुपर्ने बताइन् ।

चुनावी तयारीका क्रममा जनताको विश्वासलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव थियो ।

‘जनताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो राजनीतिक पुँजी हो । त्यो विश्वास हाम्रो विचार, व्यवहार, कार्यशैली र जनताको जीवनमा ल्याउने सकारात्मक परिवर्तनबाट अवश्य आर्जन गर्न सकिन्छ,’ उनले भनिन् ।

### कुनै पदीय मोहले सक्रिय राजनीतिमा फर्किएको होइन : विद्या भण्डारी

यसैबीच, वरिष्ठ नेता भण्डारीले कुनै पदको मोहका कारण आफू सक्रिय राजनीतिमा नफर्किएको स्पष्ट पारेकी छन् ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च पदमा पुगिसकेकाले अब आफू कुनै पनि पदप्रति आकांक्षी नरहेको बताइन् ।

‘साँच्चै भन्ने हो भने अब म कुनै पनि पदप्रति निष्पृहजस्तै भएको छु । किनकि मैले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहोदा हासिल गरिसकेको छु,’ उनले भनिन् ।

सक्रिय राजनीतिमा फर्किनुको उद्देश्य मातृ पार्टी एमालेको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण तथा सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउनु रहेको उनले बताइन् ।

सात वर्षे राष्ट्रपतिको कार्यकालमा आफूले संवैधानिक दायरा र मर्यादाभित्र रहेर काम गरेको उनको दाबी थियो ।

‘म राष्ट्रपतिको भूमिकामा रहँदा संवैधानिक दायरा र मर्यादाभित्र रहेर देश र जनताको हितमा आफूले सम्पादन गरेका असल कार्यहरू सबैका सामु छर्लङ्ग छन्,’ भण्डारीले भनिन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस