१८ वैशाख काठमाडौँ /चीन जनवादी गणतन्त्र चीनमा श्रमिक दिवसको अवसरमा सुनौलो सप्ताह (गोल्डेन विक) सुरु भएको छ । चीनमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा सरकारले पाँच दिने छुट्टी दिएपछि चिनियाँहरू घुमफिरमा निस्केका छन् ।
मे एकदेखि पाँच दिनसम्म हुने छुट्टीको अवसरमा करिब पाँच करोड मानिस यात्रामा निस्कने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संसारभरका मजदुरहरूले श्रम दिवस मनाउने गर्छन् । श्रमिकका हक अधिकारका कुरा गर्ने अवसरमा चीनमा भने छुटी दिएर मनाइन्छ ।
कम्युनिस्टले पार्टीले शासन चलाएको मुलुक चीनमा भने सुनौलो सप्ताह भन्दै पाँच दिने छुट्टी दिएर नागरिकहरूलाई श्रम दिवसको अवसरमा घुम्न भनेर सरकारले प्रोत्साहन गरेको हो । छुट्टी सोमबारसम्म लागू हुने छ ।
चीनको सरकारी टेलिभिजन सिजिटिएनले यो सुनौलो सप्ताहको पाँच दिने छुट्टीमा साढे चार करोड भन्दा बढी नागरिकले आन्तरिक पर्यटन यात्रा (विदेशबाहेक) गर्ने अनुमान गरिएको छ । त्यसका लागि चीनको द्रुत गतिको रेल सेवा, हवाई सेवा, सार्वजनिक बस सेवा थप गरिएको छ । चीनको द्रुत गतिमा चल्ने रेल सेवाले अतिरिक्त समयमा रेल सुविधा थप गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
चीनमा हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने गर्दछ । त्यसबाहेक चिनियाँ नयाँ वर्षमा वसन्त पर्वमा तीन दिन, पुर्खा दिवसमा एक दिन श्रमिक दिवसमा एक दिन, ड्रागन दिवसमा एक दिन, मध्य शरद चाडमा एक दिन, राष्ट्रिय दिवसमा तीन दिन र अन्तर्राष्ट्रिय नयाँ वर्षमा जनवरी १ गरी जम्मा ११ दिन सार्वजनिक बिदा हुने गर्दछ ।
तर चीनमा सार्वजनिक बिदा हुने दिनमा अगाडि र पछाडिको दिनमा सापटी बिदा मिलाएर नागरिकलाई आन्तरिक पर्यटन यात्रा गरुन् भनेर प्रोत्साहनका लागि सन् २०१४ देखि यस्तो सट्टा बिदाको चलन सुरु गरेको हो ।