८ जेठ काठमाडौँ / मेलम्ची नगरपालिका वडा नम्बर १२ को प्रशासनिक भवन उद्घाटन सम्पन्न भएको छ । एक कार्यक्रमका बीच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान लगायत विभिन्न वडाका वडाध्यक्षहरू लगायतको उपस्थितिमा उक्त भवनको उद्घाटन गरिएको हो ।
वडा कार्यालयको उद्घाटन गर्दै नगरप्रमुख तामाङले मेलम्ची नगरपालिका समृद्ध बन्न धेरै समय नलाग्ने बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख तामाङले उक्त भवन बनाउँदा वडा अध्यक्ष गणेशबहादुर तामाङले धेरै मेहनत गर्नुभएको र ४ करोड ६२ लाख बजेट सुनिश्चित गरेपनि दुई करोड ९७ लाखमै भवन निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
अन्य वडाहरूमा भन्दा यस वडाको प्रशासनिक भवन निर्माणमा धेरै खर्च भएको र वडाबाट प्रवाह हुने सेवा निष्पक्ष हुने कुरामा दुविधा नरहेको उहाँको भनाइ थिया ।
साथै अब वडा कार्यालय सम्पन्न पश्चात् महत्वपूर्ण संरचनाहरू मध्ये स्वास्थ्यचौकी भवनसमेत सबै वडामा निर्माण भइसकेकोले अब वडाको मुख्य सडकको रूपमा रहेको बाहुनेपाटी थाक्ले सडकलाई निरन्तर बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आगामी वर्षसम्ममा नगरपालिकाभित्रका सबै भौतिक संरचनाहरू निर्माण भइसक्ने भएकोले त्यसपश्चातका बजेटहरू आयआर्जन हुने ठाउँमा विनियोजन गर्ने योजना रहेकोले नगरपालिका यसै कार्यकालमा समृद्ध बनाउने तर्फ लागि परेको उहाँको भनाइ छ ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष राजु रायमाझी वडा नम्बर १० का अध्यक्ष अमृत खनाल वडा नम्बर २ का अध्यक्ष नगेन्द्र प्रसाद खतिवडा कार्यपालिका सदस्यहरू राजनीतिक दलका प्रतिनिधि पूर्व जनप्रतिनिधिहरु बुद्धिजीवी समाजसेवी स्थानीय पत्रकार सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।