
२६ असोज, धादिङ । धादिङको गजुरी गाउँपालिका–७ र ८ जोड्ने बेलबोटे–लामचिरा मोटरेबल पुलको शिलान्यास गरिएको छ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल र गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले संयुक्त रूपमा पुलको शिलान्यास गरेका हुन्।
बागमती प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय धादिङमार्फत निर्माण हुन लागेको उक्त पुल ४५ मिटर लामो हुनेछ। पुल निर्माणका लागि ज्वालामुखी कन्स्ट्रक्सन प्रा.लि.सँग ६ करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। निर्माण सम्पन्न गर्न दुई वर्षको अवधि तोकिएको छ।
पुल निर्माण सम्पन्न भएपछि गजुरी गाउँपालिका–८ अन्तर्गत साविक किराञ्चोक गाविसका वडा नं. १, २ र ३ तथा गल्छी गाउँपालिका–४ का स्थानीयवासीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
पुल बनेपछि स्थानीयवासीको दैनिक आवतजावतसँगै कृषि उपज ढुवानी, व्यापार व्यवसाय र यातायात सञ्चालनमा समेत सहजता आउने विश्वास गरिएको छ। लामो समयदेखि स्थानीयवासीले अपेक्षा गर्दै आएको पुल निर्माणले दुई स्थानीय तहका बासिन्दाबीचको सम्पर्कलाई सहज बनाउनुका साथै क्षेत्रको आर्थिक तथा पूर्वाधार विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमा यातायातको पहुँच विस्तार गर्न महत्वपूर्ण मानिएको यस पुलको निर्माण निर्धारित समयमै सम्पन्न भएमा स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको आवतजावतको समस्या समाधान गर्न सहयोग पुग्नेछ।