
६ असोज, काठमाडौं । नेवा: देय् दवूले आफ्ना पूर्व वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार आदीवासी जनजाति महासंघ नेपाल केन्द्रिय उपाध्यक्ष स्वर्गीय चन्द्रलाल राजभण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

लामो समयदेखि पेटसम्बन्धी समस्या, पिसाबसम्बन्धी समस्या तथा उच्च रक्तचापलगायत स्वास्थ्य समस्याबाट ग्रसित राजभण्डारी उपचारका लागि भारत गएका थिए । भारतमा उपचारका क्रममा रहेका उनको असोज ८ गते साँझ उपचारकै क्रममा निधन भएको हो ।
स्वर्गीय राजभण्डारीको निधनले नेवा: देय् दवूलाई अपूरणीय क्षति पुगेको पूर्व अध्यक्ष तथा संरक्षक नरेश ताम्राकारले बताए । उनले देशभर संगठन विस्तार तथा समुदायका गतिविधिलाई अघि बढाउन राजभण्डारीको अतुलनीय योगदान रहेको बताए ।
नेवा: देय् दवूको स्वयम्भू–चमतीस्थित कार्यालयमा आयोजित श्रद्धाञ्जली तथा शोकसभामा पूर्व अध्यक्ष तथा संरक्षक पवित्रामान बज्राचार्य, अध्यक्ष रश्मिला प्रजापतिलगायतले स्वर्गीय राजभण्डारीको योगदानबारे धारणा राखेका थिए ।

कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूले स्वर्गीय राजभण्डारीको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

स्वर्गीय चन्द्रलाल राजभण्डारी आदीवासी जनजाति महासंघ नेपाल केन्द्रिय उपाध्यक्ष तथा नेवा: समाज भरतपुरका संस्थापक अध्यक्षसमेत थिए । चितवनको भरतपुर महानगरपालिका–१२ निवासी राजभण्डारी सामाजिक क्षेत्रमा परिचित व्यक्तित्वका रूपमा रहेका थिए ।
उनको भारतको गंगानदीमा अन्त्येष्टि गरिएको र वृन्दावनमै बसेर क्रियाकर्म सम्पन्न गरी असोज २६ गते नेपाल फर्किने तयारी रहेको उनका भान्जा सुक्र श्रेष्ठले जानकारी दिए ।
सामाजिक तथा सामुदायिक क्षेत्रमा सक्रिय राजभण्डारीको निधनप्रति नेवा: देय् दवूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।