काठमाडौं, असार ८ – शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेर प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै पुगेर मानसिक दबाब दिएको तथा ज्यान मार्ने धम्की दिएको आरोपमा गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरिएको छ।
उजुरीमा गृहमन्त्री गुरुङले हिरासतमा रहेका प्रदर्शनकारीहरूसँग भेटघाटका क्रममा अमानवीय व्यवहार गरेको, मानसिक त्रास सिर्जना गरेको तथा उनीहरूको मानव अधिकारको उल्लङ्घन हुने किसिमका अभिव्यक्ति दिएको आरोप लगाइएको उल्लेख छ।
निवेदकहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा हिरासतमा रहेका व्यक्तिहरूको मानव अधिकार संरक्षण सुनिश्चित गर्न आयोगसमक्ष माग गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले निवेदन प्राप्त भएको पुष्टि गर्दै घटनाबारे आवश्यक अध्ययन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइने जनाएको छ।
यता, गृहमन्त्री गुरुङ वा गृह मन्त्रालयले भने उजुरीबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
मानव अधिकारकर्मीहरूले हिरासतमा रहेका व्यक्तिहरूको सुरक्षा, सम्मानजनक व्यवहार तथा कानुनी अधिकारको संरक्षण राज्यको दायित्व भएकाले घटनाबारे सत्यतथ्य छानबिन हुनुपर्ने बताएका छन्।