२०८३ कार्तिक १०, सोमबार

रसुवा–भोटेकोशी बाढी

रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, ६ हजारभन्दा बढी परिवार प्रभावित

रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, हजारौँ परिवार प्रभावित
रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, ६ हजारभन्दा बढी परिवार प्रभावित

रसुवा–भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।

राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको हो ।

बाढीबाट नुवाकोट, रसुवा, धादिङ र गोरखाका ६ हजार ८१७ घरपरिवार तथा ४९९ व्यवसाय र प्रतिष्ठान प्रभावित भएका छन् । बाढीबाट कुल ३२ हजार ८७२ जना प्रभावित भएको र २ हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको आयोगको प्रारम्भिक विवरणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार सबैभन्दा बढी क्षति नुवाकोटमा पुगेको छ । नुवाकोटका ३ हजार ८४१ घरपरिवार प्रभावित भएका छन् । त्यस्तै, रसुवाका १ हजार ९२०, धादिङका ९४८ र गोरखाका १०८ घरपरिवार प्रभावित भएका छन् ।

जग्गाजमिनमा सबैभन्दा बढी क्षति

बाढीबाट सबैभन्दा ठूलो आर्थिक क्षति जग्गाजमिनमा पुगेको छ । आयोगको प्रारम्भिक विवरणअनुसार ३ हजार ६१० परिवारको ५०७.९७ हेक्टर जग्गामा क्षति पुगेको छ । उक्त जग्गाको मूल्याङ्कन ३५ अर्ब ४४ करोड रुपैयाँ गरिएको छ ।

त्यस्तै, घर भएको जग्गाको घडेरीमा १३ अर्ब २६ करोड र घर निर्माण लागततर्फ ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ ।

बाढीबाट क्षतिग्रस्त ४ हजार १५१ भवन संरचनामध्ये ३ हजार १९४ पुनः प्रयोग गर्न नसकिने अवस्थामा छन् । त्यस्तै, ३३२ संरचना पूर्ण मर्मतसम्भारपछि, ३२० सामान्य मर्मतसम्भारपछि र ९७ संरचना मर्मत नगरी प्रयोग गर्न सकिने अवस्थामा रहेको विवरणमा उल्लेख छ ।

खेतीबाली र सवारीसाधनमा पनि ठूलो क्षति

बाढीले घरजग्गामा मात्र नभई कृषि उत्पादन र प्रभावित परिवारको जीविकोपार्जनमा समेत असर पारेको छ । खेतबारीमा लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसबाट २ हजार ९५१ परिवार प्रभावित भएका छन् ।

भण्डारणमा रहेको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ र पशुपक्षी तथा माछामा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

त्यस्तै, परिवारले प्रयोग गर्ने सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बहुमूल्य, सांस्कृतिक तथा पुरातात्त्विक वस्तुमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । टिकाउ प्रकृतिका घरायसी सामग्रीमा १ अर्ब ४५ करोड र टिकाउ नहुने घरायसी सामग्रीमा ६६ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति भएको आयोगको विवरण छ ।

व्यापार तथा खाद्य सेवा क्षेत्र प्रभावित

व्यवसाय तथा प्रतिष्ठानतर्फ थोक तथा खुद्रा व्यापार क्षेत्र बढी प्रभावित भएको सर्वेक्षणले देखाएको छ । यस क्षेत्रमा ७७४ प्रतिष्ठान प्रभावित भएका छन् । आवास तथा खाद्य सेवा क्षेत्रका ३३७ प्रतिष्ठान प्रभावित भएका छन् ।

त्यस्तै, कृषि, वन तथा मत्स्यपालन क्षेत्रका १६६, अन्य सेवा क्षेत्रका १३६, औद्योगिक उत्पादन क्षेत्रका ७०, निर्माण क्षेत्रका ४७ तथा यातायात र भण्डारण क्षेत्रका ३१ प्रतिष्ठान प्रभावित भएका छन् । वित्तीय सेवा, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रका प्रतिष्ठानमा समेत बाढीको असर परेको छ ।

१ हजार ५२९ परिवार सरकारी पुनःस्थापनाको पक्षमा

बाढीपछि स्थायी रूपमा कहाँ बसोबास गर्ने भन्ने विषयमा प्रभावित परिवारको रोजाइले पुनःस्थापनाको चुनौती देखाएको छ । सर्वेक्षणमा समेटिएका ३ हजार ६७ परिवारमध्ये ७९७ परिवारले बाढीअघि बसोबास गरिरहेको स्थानमै फर्कन चाहेको बताएका छन् ।

सरकारले उपलब्ध गराउने स्थानमा बस्न चाहने परिवार ९३९ छन् भने सरकारी सामूहिक आवासमा बस्न चाहने परिवार ५९० छन् । यसरी सरकारी स्थान वा सामूहिक आवासमा बस्न चाहने परिवारको सङ्ख्या १ हजार ५२९ पुगेको छ ।

यसले प्रभावित परिवारको पुनःस्थापनाका लागि सुरक्षित जग्गा, आवास र आधारभूत सेवा उपलब्ध गराउनु आवश्यक रहेको देखाउँछ ।

५८ टोली परिचालन गरेर गरिएको सर्वेक्षण

राष्ट्रिय योजना आयोगले अनलाइन एप र ट्याब्लेट प्रयोग गरी कर्मचारी परिचालन गरेर क्षतिको प्रारम्भिक सर्वेक्षण गरेको जनाएको छ । सर्वेक्षणका लागि चार जिल्ला र १५ स्थानीय तहमा ५८ टोली तथा १५६ जनशक्ति परिचालन गरिएको थियो ।

आयोगका अनुसार सर्वेक्षणमार्फत ७ हजार ३१६ घरपरिवार, व्यवसाय तथा प्रतिष्ठानको विवरण सङ्कलन गरिएको छ ।

प्रारम्भिक विवरणले बाढीबाट भएको ठूलो आर्थिक क्षति देखाएको छ । प्रभावित परिवारको पुनःस्थापना, आवास पुनर्निर्माण र जीविकोपार्जन पुनःस्थापना आगामी दिनका प्रमुख चुनौती हुने देखिएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस