
३ मंसिर, काठमाडौं । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ । वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको हो ।
आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ ।
विश्वका प्रदूषित सहरको सूचीमा पाकिस्तानको लाहोर पहिलो स्थानमा रहेको छ । लाहोरको वायु गुणस्तर सूचकांक ३२५ रहेको छ भने दोस्रो स्थानमा रहेको बंगलादेशको राजधानी ढाकाको एक्यूआई २५६ छ ।
त्यस्तै, भारतको राजधानी दिल्ली १८२ एक्यूआईसहित चौथो स्थानमा रहेको छ । पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ एक्यूआईसहित छैटौँ स्थानमा छन् ।
आईक्यूएयरको तथ्यांकअनुसार काठमाडौंको वायु प्रदूषणको स्तर अस्वस्थकर तहमा पुगेको छ । यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्न सक्छन् ।
वायु प्रदूषणको उच्च स्तरले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले जोखिममा रहेका समूहले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ ।