२०८३ मंसिर ७, आईतबार

भारत भ्रमणको एजेन्डाबाट सीमा विवाद हटेपछि परराष्ट्र मन्त्रालयका अधिकारी आश्चर्यचकित, प्रधानमन्त्रीले विवादित विषय नसमेट्न निर्देशन दिएको स्रोतको दाबी।

बालेनको भारत भ्रमणमा सीमा विवादको मुद्दा गायब, परराष्ट्रका कर्मचारी स्तब्ध

बालेनको भारत भ्रमणमा सीमा विवादको मुद्दा गायब, परराष्ट्रका कर्मचारी स्तब्ध
बालेनको भारत भ्रमणमा सीमा विवादको मुद्दा गायब, परराष्ट्रका कर्मचारी स्तब्ध

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यासम्म परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूबीच एउटा प्रश्न चर्चामा थियो– भारत पुगेर प्रधानमन्त्री शाहले सीमा विवादको विषय कसरी उठाउलान् ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा यस विषयमा उनको प्रस्तुति कस्तो होला ?

सीमा विवादलाई लिएर परराष्ट्र मन्त्रालयमा चासो बढ्नुका पछाडि दुई कारण थिए। पहिलो, गत जेठ १७ गते संसद्‌मा प्रधानमन्त्री शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति। उनले भारतले नेपालको मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने भन्दै दुवै देशले अध्ययन गरेर आपसी मित्रताका आधारमा समस्या समाधान गर्नुपर्ने बताएका थिए।

दोस्रो, काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए। भारतले नयाँ संसद् भवनमा नेपाली भूभागसमेत समेटिएको ‘अखण्ड भारत’को मुरल राखेपछि बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए।

तर, प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्कने दिन आइतबार बिहानसम्म आइपुग्दा परराष्ट्र मन्त्रालयका कर्मचारीहरू आश्चर्यचकित र स्तब्ध बनेका छन्। किनकि, प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डामा सीमा विवादबारे कुनै उल्लेख छैन।

यसले प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा सीमा विवादबारे कुरा नउठाउने संकेत गरेको छ। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सीमा विवादको विषय सुरुदेखि नै भ्रमणको एजेन्डामा समेट्ने चर्चा थियो। तर, भ्रमणको तयारी लगभग पूरा भइसकेको अवस्थामा अचानक उक्त विषय एजेन्डाबाट हटाइएको हो।

‘सुरुमा भारत भ्रमणमा जाने/नजाने विषय नै टुंगो लागेको थिएन। टुंगो लागे पनि यति छोटो समयको भ्रमण होला भनेर कसैले अनुमानै गरेका थिएनौं,’ ती अधिकारीले भने, ‘भ्रमणको गृहकार्य सुरु भएयता सबैभन्दा धेरै जोड सीमा विषयमाथि नै थियो। गृहकार्य नभएको पनि होइन। तर आज अचानक कहीँकतै त्यो विषय समेटिएको पाएनौं।’

प्रधानमन्त्री कार्यालयका एक उच्च स्रोतले पनि भ्रमणमा सीमा विवादको एजेन्डा नरहेको पुष्टि गरेको छ। स्रोतका अनुसार प्रधानमन्त्री शाहले भ्रमणमा विवादित विषय नराख्न स्पष्ट निर्देशन दिएका थिए।

‘सीमा विवादको विषयबारे हाम्रो दुई पक्षीय वार्ता नै भएको थियो। तर सीमाको विषय झिक्दा पूरा भ्रमण नै प्रभावित हुने खतरा बढेपछि त्यो विषय नै प्रधानमन्त्रीजीले हटाउन लगाउनुभयो,’ स्रोतले भन्यो, ‘संवाद र सहकार्यका लागि धेरै विषय भएका कारण तत्कालका लागि सीमा विवाद प्राथमिकतामा राखिएन।’

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी वाचापत्रमा सीमा विवाद समाधानका लागि भावनामा नभई तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहल गर्ने उल्लेख गरेको छ।

सीमा विवाद उठाउनुपर्ने पूर्वराजदूतको जोड

भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य भने प्रधानमन्त्रीको भ्रमणको औपचारिक एजेन्डामा सीमा विवाद नरहे पनि उक्त विषय उठाउनुपर्ने बताउँछन्। उनका अनुसार सीमा विवादबारे संवाद नगरी दुवै देशलाई सुख छैन।

‘यो हामी दुवै देशलाई घोचिरहने विषय हो। एकैचोटी निकास ननिस्किए पनि संवादको ढोका खोल्नुपर्छ,’ आचार्य भन्छन्, ‘यो विषयलाई गुम्स्याएर राख्दा कसैलाई फाइदा छैन। मलाई यो विषयमा कुरा हुन्छ भन्ने विश्वास छ।’

कूटनीतिक मामिलाका जानकार मोहनकृष्ण श्रेष्ठ पनि प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवादको एजेन्डा छुट्न नहुने बताउँछन्। उनका अनुसार सीमा विवाद दुवै देशका लागि संवेदनशील विषय भएकाले यसबारे पर्याप्त छलफल आवश्यक छ।

‘समस्या समाधानका लागि त एजेन्डा बन्नै पर्थ्यो। दुवै देशले यो विषयलाई प्राथमिकता दिनुपर्ने हो,’ उनी भन्छन्, ‘कुरै नगर्ने हो भने समाधान कसरी निस्किन्छ?’

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस