२०८३ मंसिर १३, शनिबार

नास्ट कर्मचारी आन्दोलन

नास्टका कर्मचारी आन्दोलनमा, मन्त्री महावीर पुनको राजीनामा माग

नास्टका कर्मचारी आन्दोलनमा, मन्त्री महावीर पुनको राजीनामा माग
नास्टका कर्मचारी आन्दोलनमा, मन्त्री महावीर पुनको राजीनामा माग

११ मंसिर, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कर्मचारीहरू नयाँ अध्यादेश र नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएका छन् ।

शुक्रबार प्रतिष्ठान परिसरमा प्लेकार्डसहित प्रदर्शन गर्दै कर्मचारीहरूले सरोकारवालासँग छलफल नगरी ऐन तथा नियमावली ल्याइएको भन्दै विरोध जनाएका हुन् । उनीहरूले विज्ञान तथा प्रविधि एवं नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने मागसमेत गरेका छन् ।

प्रदर्शनमा सहभागी कर्मचारीहरूले अध्यादेश तथा नियमावली निर्माणका क्रममा आफूहरूले दिएका सुझाव बेवास्ता गरिएको र सरोकारवालासँग छलफल नगरिएको गुनासो गरेका छन् ।

विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको बताए ।

सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने र दक्ष जनशक्ति पलायन गराउने कदम स्वीकार्य नहुने उनले चेतावनी दिए ।

देशको विज्ञान तथा अनुसन्धान क्षेत्रको भविष्य निर्धारण गर्ने विज्ञान नीति वैज्ञानिकहरूको सहभागितामा बनाउनुपर्ने भन्दै कँडेलले अध्यादेश र नियमावली तत्काल खारेज गर्न माग गरे ।

कर्मचारीहरूले अध्यादेश र नियमावलीका नाममा भइरहेको मनोमानी बन्द गर्न तथा प्रतिष्ठानमाथि मन्त्रालय र मन्त्रीको दबाब रोक्नुपर्ने माग अघि सारेका छन् ।

त्यस्तै, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली तथा नीति निर्माण गर्न र प्रतिष्ठानको सक्षम नेतृत्व खुला विज्ञापन एवं प्रतिस्पर्धाबाट चयन गर्नुपर्ने उनीहरूको माग छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस