
११ मंसिर, काठमाडौं । नदी किनारबाट विस्थापित सुकुमवासीलाई राखिएको भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र खाली गर्न प्रशासनले उर्दी जारी गरेपछि त्यहाँ बस्दै आएकाहरू विरोधमा उत्रिएका छन् ।
बिहीबार सुकुमवासीहरूले रित्तो थाल ठटाएर प्रदर्शन गरेका छन् । भक्तपुर प्रशासनले शुक्रबार दिउँसो २ बजेसम्म ठाउँ खाली गर्न सूचना जारी गरेपछि उनीहरू आक्रोशित भएका हुन् । बिहीबार सुरक्षाकर्मीले माइकिङ गरेर पनि ठाउँ खाली गर्न निर्देशन दिएका थिए ।
गत वैशाखमा नदी किनारबाट विस्थापित गरिएका सुकुमवासीलाई काठमाडौंको नागार्जुन तथा भक्तपुरका बोडे र खरिपाटीमा अस्थायी बसोबासको व्यवस्था गरिएको थियो । थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रबाट हटाइएकाहरू सात महिनादेखि ती स्थानमा बस्दै आएका छन् ।
बोडेस्थित कृषि विकास बैंकको भवनमा १९ परिवारका ५९ जना बसिरहेका छन् । अस्थायी आवासमा सात महिना बिताइसकेका उनीहरूलाई वैकल्पिक स्थायी बसोबासको व्यवस्था नहुँदै ठाउँ खाली गर्न निर्देशन दिइएपछि सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
सरकारले उचित व्यवस्थापन र वैकल्पिक आवासको सुनिश्चितता नगरी हटाउन लागेको उनीहरूको आरोप छ । प्रशासनका अनुसार बोडेमा रहेका १९ परिवारमध्ये सात परिवार भूमिहीन नठहरिने दाबी गरिएको छ । बाँकी १२ परिवारलाई सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने निस्सा प्राप्त भएको प्रशासनको भनाइ छ ।
भूमि समस्या समाधान समितिले जग्गासम्बन्धी अभिलेख फेला पारेपछि त्यसकै आधारमा ठाउँ खाली गर्न सूचना जारी गरिएको प्रशासनले जनाएको छ । तर, सुकुमवासीहरूले अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन नरहेको निष्कर्ष निकाल्न नहुने भन्दै पुनरावलोकन गर्न माग गरेका छन् ।
प्रत्येक परिवार भूमिहीन हुनुपरेको अवस्था, वास्तविक जग्गा, आवासीय र आर्थिक अवस्थाबारे प्रत्यक्ष संवाद तथा निष्पक्ष स्थलगत छानबिन गर्नुपर्ने उनीहरूको माग छ ।
बोडेको होल्डिङ सेन्टरमा बस्दै आएका झवरलाल उराउले सरकारी अभिलेखमा जग्गा रहेको भनिए पनि सम्बन्धित व्यक्तिहरूले जग्गामा पुगेर हेर्दा आफ्नो नाममा भूमि नभेटिएको दाबी गरे ।
‘संविधानमा कोरिएका अधिकारका कुराहरू सरकारले सोच्नुपर्छ । होइन भने हामी फेरि पनि थापाथली गएर बस्छौं,’ उराउले भने ।
सात महिनादेखि समस्या समाधान गर्नुको सट्टा सरकारी पक्षले आफूहरूलाई डर देखाउने काम मात्रै गरिरहेको उनको आरोप छ । काठमाडौं महानगरका बासिन्दा तथा काठमाडौं–१ का मतदाता रहेको बताउँदै उराउले आफू कहाँ जाने भन्ने प्रश्न गरेका छन् ।
बोडेमा बस्दै आएका सुकुमवासीलाई हट्न निर्देशन दिएपछि अन्य अस्थायी सेल्टरमा बसिरहेका परिवारसमेत त्रसित बनेका छन् । तीन स्थानका सुकुमवासीका ११ जना प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै सम्बन्धित जिल्ला प्रशासन, सरकारी निकाय र पीडित प्रतिनिधिबीच संवाद गरी समयसीमासहितको कार्ययोजना बनाउन माग गरेका छन् ।
भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको भवनमा सात महिनादेखि बस्दै आएका ३७ परिवार पनि अनिश्चित आवासका कारण चिन्तित छन् । ७० वर्षीय पवन गुरुङले आफूहरूलाई पनि हटाइए कहाँ जाने भन्ने अन्योल रहेको बताए ।
‘हामी भोको हुनुपरेको त छैन । अहिलेसम्म बस्ने ठाउँ निश्चित नहुने र यही ठाउँ पनि खाली गर्न भनियो भने के गर्ने ? कहाँ जाने ?’ गुरुङले भने ।
गुरुङ कीर्तिपुरको अस्थायी सेल्टरमा बाढी पसेपछि खरिपाटीमा सरेका हुन् । सरकारले विस्थापित सुकुमवासीको लगत संकलन गरी १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको भए पनि सात महिनासम्म स्थायी आवासको व्यवस्था हुन नसकेको उनीहरूको गुनासो छ ।
‘बोडेमा हटाउन लागेको थाहा पायौं । यो जाडोमा हटाएर हामी कहाँ जाने होला त ? हामी यही सोचिरहेका छौं,’ गुरुङले भने, ‘मन्त्रीज्यूले जिल्ला जिल्लामा भूमिहीनलाई जग्गा वितरण गरेको सुनिरहेका थियौं । हामीले पनि आशा गरिरहेको बेला हट्न भनेपछि हामी जाने कहाँ हो ?’
भूमि व्यवस्था मन्त्रालय र अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिसँग छलफल गर्ने तयारी भइरहेका बेला ठाउँ खाली गर्न सूचना जारी गरिएको गुरुङको भनाइ छ । समितिको उक्साहटमा आफूहरूलाई हटाउन खोजिएको उनको आरोप छ ।
अतिक्रमित बस्ती हटाउन समितिले सरकारलाई सुझाव दिएको आधारमा केन्द्रीय सरकारको सक्रियतामा बस्ती खाली गरिएको थियो ।
सरकारले ठाउँ खाली गर्न दिएको निर्देशन स्वीकार नगर्ने बोडेका सुकुमवासीले अडान लिएका छन् । कृषि विकास बैंकको भवनमा बस्दै आएका सुकुमवासी अगुवा उराउले आफूहरू नहट्ने र हटाउन आए प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
‘सरकारले २ बजेसम्म हट्न भनेको छ । हामी यहाँबाट हट्दैनौं । सरकारले हटाउन आए प्रतिवाद गर्छौं,’ उराउले भने ।