
६ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकाले वडा नं. २ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको छ । नगरपालिकाले नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौंमा परीक्षणका लागि पठाइएको थियाे । साे मरेका कागहरूमा परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएकाे नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए ।
‘प्रयोगशालाबाट आएको परीक्षण नतिजाअनुसार ‘लो प्याथोजेनिक एच–९’ प्रकारको बर्डफ्लु पुष्टि भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने । नगरपालिकाले सूचना निकालेर बर्डफ्लु रोगबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न तथा संक्रमण फैलिन नदिन सबै सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।