
२ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको बुधबार ब्रेकथ्रु भएको छ ।
३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको राष्ट्रपति रामचन्द्र पौडेलले ब्रेकथ्रु गरेका हुन् । सुरुङको दुवैतर्फबाट खनिएको भाग जोडिएसँगै आयोजनाको सुरुङ निर्माणले थप गति लिने नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार द्रुतमार्गअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये यसअघि तीन स्थानका पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै अन्य सुरुङ निर्माणको कामलाई समेत थप गति दिने सेनाको अपेक्षा छ ।
आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ । उच्च प्रविधियुक्त पुलसहित द्रुतमार्गका अन्य संरचना निर्माणको काम पनि अघि बढिरहेको सेनाले जनाएको छ ।
यद्यपि, आयोजना निर्माणका क्रममा ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवाद भने अझै चुनौतीका रूपमा रहेको छ । उक्त क्षेत्रमा करिब ६.५ किलोमिटर सडक खण्डको विवाद समाधानका लागि पहल भइरहेको र समस्या टुंगिएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने सेनाले जनाएको छ ।
महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् ।
करिब ७३ किलोमिटर लामो अत्याधुनिक द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराई/मधेशबीचको यात्रा समय र दूरी घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधन सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने उनले बताए ।
राष्ट्रपति पौडेलले द्रुतमार्गले भौतिक पूर्वाधारको विकासमा मात्रै नभई सामाजिक तथा आर्थिक रूपान्तरणमा समेत योगदान पुर्याउने बताए । उनका अनुसार यसले राजधानी र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउनेछ ।
‘काठमाडौं उपत्यकालाई तराई/मधेशसँग जोड्ने यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी घट्नुका साथै यातायात, व्यापार, पर्यटन तथा समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने, ‘यसले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई समेत थप मजबुत बनाउनेछ ।’
द्रुतमार्ग सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण र क्षेत्रीय आर्थिक गतिविधिको विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले आफूले द्रुतमार्गको तेस्रो पटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै नेपाली सेनाले हासिल गरेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे ।
विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता र प्रतिबद्धता प्रशंसनीय रहेको उनले बताए ।
आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार, नेपाली सेना, निर्माण व्यवसायी र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र प्रतिबद्धता आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले बताए ।
कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति थियो ।
नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन आग्रह गरेको छ ।
त्यस्तै, आयोजना निर्माणमा सहयोग गर्ने नेपाल सरकार, रक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, प्रदेश तथा स्थानीय तह र सम्बन्धित निकायप्रति सेनाले आभार व्यक्त गरेको छ ।