
२ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो । सुनुवाइका क्रममा दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएको र केहीबेरमा आदेश आउने बताइएको छ ।
सरकारले गत १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
तिहार र छठको बिदापछि मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले कार्कीको रिटमाथि आजका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको थियो ।
अब सर्वोच्च अदालतले गर्ने आदेशले कार्कीको रिटसम्बन्धी आगामी कानुनी प्रक्रिया तय गर्नेछ ।