२०८३ मंसिर ३, बुधबार

ओलीको चेतावनी– ‘अब लाखौंको संख्यामा सडकमा निस्कन्छौँ’

कार्यकर्तालाई आन्दोलनको तयारीमा रहन ओलीको निर्देशन, भने– ‘अब लाखका हिसाबले सडकमा निस्कन्छौँ’

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
कार्यकर्तालाई आन्दोलनको तयारीमा रहन ओलीको निर्देशन, भने– ‘अब लाखका हिसाबले सडकमा निस्कन्छौँ’

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारका गतिविधिका कारण आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।

उनले सरकारले प्रतिशोध साँध्न सक्ने, पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्न सक्ने र उनीहरूमाथि आक्रमण हुन सक्ने भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गरे ।

‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्, कुनै पनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ ओलीले भने ।

उनले वर्तमान सरकार संविधान, कानुन र स्थापित मर्यादाअनुसार सञ्चालन भइरहेको आफूलाई नलागेको टिप्पणीसमेत गरे ।

ओलीले आफूलाई गिरफ्तार गरिए एमाले चुप लागेर नबस्ने चेतावनी दिए । उनले यसअघि आफू गिरफ्तार हुँदा केही हजारको संख्यामा कार्यकर्ता सडकमा आएको उल्लेख गर्दै अब लाखौंको संख्यामा सडकमा उत्रने दाबी गरे ।

‘एमाले चुप लागेर बस्नेछैनौं । संख्या केही हजारका दरले त्यसबेला निस्कियो होला । अब लाखका हिसाबले निस्कन्छ,’ उनले भने ।

सम्बोधनका क्रममा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले आफू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने अभिव्यक्ति दिएको दाबीसमेत दोहोर्‍याए ।

ओलीले यसअघि पनि प्रहरी नेतृत्व र सरकारका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै आफूहरूलाई प्रमाण भए पक्राउ गरेर थुन्न चुनौती दिएका थिए ।

एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित गरेको जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस