
२ मंसिर, धनगढी । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा भएको अटो रिक्सा दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । दुर्घटनामा शिक्षक दीपक महराले श्रीमती, छोरा, छोरी र भतिजी गुमाएका छन् ।
सोमबार बिहान दीपकले श्रीमती, छोराछोरी र भतिजीलाई घरबाट बिदाइ गरेका थिए । उनीहरू डडेल्धुरा जान घरबाट निस्किएका थिए । तर घरबाट केही पर नपुग्दै पाँच जना सवार अटो रिक्सा दुर्घटनामा परेको खबर आयो ।
भिरमा अटो खस्दा त्यसमा सवारमध्ये चार जनाको मृत्यु भयो भने एक जना सकुशल भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा दीपककी २६ वर्षीया श्रीमती राजमती महरा, ७ वर्षीय छोरा रियास, दुई वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा दीपकका भतिज विक्रम महरा भने सकुशल भेटिएका छन् । मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको अटोका चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालक पातलीले अटोको ब्रेक फेल भएपछि दुर्घटना भएको बताएका छन् । उनले आफू र एक बालकले अटोबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् ।