२०८३ मंसिर ३, बुधबार

धरानको बराह सहकारीमा १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी अपचलन भएको आरोप, २६२ जनाविरुद्ध मुद्दा दायर।

११ अर्ब अपचलन आरोपमा बराह ग्रुपका अध्यक्ष पक्राउ

बराह सहकारी प्रकरण : अध्यक्ष लामिछाने कोशी प्रदेशबाट पक्राउ
११ अर्ब अपचलन आरोपमा बराह ग्रुपका अध्यक्ष पक्राउ

२ मंसिर, विराटनगर । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको करिब ११ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले लामिछाने पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार उनलाई कोशी प्रदेशबाटै पक्राउ गरिएको हो । पक्राउ परेको स्थान भने प्रहरीले सार्वजनिक गरेको छैन ।

‘सहकारी अपचलनपछि उहाँ भागिरहनुभएको थियो । प्रहरीले ट्र्याक गरिरहेको थियो,’ डीआईजी खनालले भने, ‘उहाँलाई कोशी प्रदेशबाटै समातिएको हो, ठाउँ चाहिँ पछि भन्छौं ।’

धरान उपमहानगरपालिकालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको बराह सहकारी २०७९ सालदेखि समस्यामा परेको थियो । सहकारीलाई २०८२ भदौ २२ गते धरान उपमहानगरपालिकाले समस्याग्रस्त घोषणा गरेको थियो ।

बराह सहकारीमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ अपचलन भएको दाबीसहित २६२ जनाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने) लगायतका प्रतिवादी फरार थिए ।

१० अर्ब ७३ करोडभन्दा बढी रकम अपचलनको आरोप

प्रहरी अनुसन्धानअनुसार बराह सहकारीबाट अपचलन भएको अधिकांश रकम बराह ग्रुप अफ कम्पनीअन्तर्गतका १४ वटा कम्पनीमा लगानी गरिएको थियो ।

सहकारीले तिर्नुपर्ने कुल दायित्व १० अर्ब ८९ करोड ९५ लाख २० हजार २३५ रुपैयाँ रहेको छ । त्यसमध्ये बराह ज्वेलरीले सहकारीका नाममा ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२० रुपैयाँ संकलन गरेको देखिएको छ ।

सहकारीको दायित्व पूरा गर्न सञ्चालकहरूबाट १० अर्ब ७१ करोड ४३ लाख ४७ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ ।

बराह ग्रुपले देशभरका सर्वसाधारणको करिब १४ अर्ब रुपैयाँ डुबाएको अनुमान छ । सुनसरी प्रहरीको अनुसन्धानले धरानमा मात्रै १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको देखाएको थियो । चितवन, काठमाडौं र कास्कीमा समेत बराहले सर्वसाधारणबाट रकम संकलन गरेको थियो ।

१४ कम्पनीमा फैलिएको थियो बराह ग्रुपको कारोबार

बराह ग्रुपले धरानबाहिर पनि विभिन्न कम्पनीमार्फत आफ्नो व्यावसायिक कारोबार विस्तार गरेको थियो । काठमाडौं, चितवन र पोखरामा समेत यसका कम्पनी सञ्चालनमा थिए ।

ग्रुपअन्तर्गत इन्द्र बराह ट्राभल्स एन्ड टुर्स प्रालि काठमाडौं, नारायण बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि भरतपुर, गोरखा एन्ड बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि पोखरा, बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि काठमाडौं, बराह प्रपर्टी सर्भिसेज प्रालि काठमाडौं, बराह नेसनल इन्भेस्टमेन्ट प्रालि काठमाडौं र ड्रिमल्यान्ड रियल स्टेट प्रालिलगायत कम्पनी थिए ।

सहकारीको रकम ग्रुपअन्तर्गतका विभिन्न कम्पनीमा लगानी गरिएको अनुसन्धानबाट खुलेको छ । बराह ज्वेलरी प्रालिमा २७ करोड २८ लाख ४९ हजार रुपैयाँ, बराह फेमिली किचेनमा ३ करोड ४ लाख २७ हजार रुपैयाँ, बराह डिपार्टमेन्ट स्टोरमा ८७ लाख ९६ हजार १८८ रुपैयाँ लगानी भएको थियो ।

त्यस्तै, बराह भेडेटार मल्टिपर्पोज प्रालिमा ४ करोड ८६ लाख ८९ हजार रुपैयाँ र थप २८ लाख २५ हजार २३८ रुपैयाँ तथा बराह कृषि उपज तथा पशुपालन प्रालिमा ४ करोड ६८ लाख ३ हजार ३८२ रुपैयाँ लगानी भएको विवरणमा उल्लेख छ ।

२०५२ सालमा सुरु भएको थियो बराहको कारोबार

२०५२ सालमा भोजपुरबाट धरान झरेका इन्द्र लामिछाने (विश्वकर्मा) ले धरानका लाहुरे परिवारलाई लक्षित गर्दै बराह ज्वेलरी इन्टरप्राइजेज स्थापना गरेका थिए ।

सुरुदेखि नै ज्वेलरीमार्फत आकर्षक ब्याज दिने प्रलोभन देखाएर बचत संकलन गर्ने गरिएको थियो । ब्रान्डका रूपमा स्थापित भएपछि बराहले आफ्नो नामसँग ‘विश्वासको प्रतीक’ भन्ने उपनामसमेत जोडेको थियो ।

सुन पसलबाट बचत तथा ऋणको कारोबार गर्न रोक लागेपछि २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएको थियो । आफ्नै सहकारीमार्फत बराह ग्रुपका विभिन्न कम्पनीमा रकम लगानी हुँदै आएको थियो ।

२०६९ साल माघमा हङकङ गएका बेला इन्द्र लामिछाने मृत अवस्थामा भेटिएका थिए । त्यसपछि समस्यामा पर्न थालेको बराह ग्रुप कोरोना महामारीपछि थप संकटमा परेको थियो ।

सर्वसाधारणको ठूलो रकम अपचलन भएको आरोपमा लामो समयदेखि फरार रहेका ग्रुपका अध्यक्ष पक्राउ परेसँगै अब सहकारीको रकम अपचलन र सर्वसाधारणको बचत फिर्तासम्बन्धी अनुसन्धानले थप गति लिने अपेक्षा गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस