
माघ १८ काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत गरी ९३ जना प्रतिवादी रहेको पतञ्जली जग्गाको हिनामिना प्रकरणको भ्रष्टाचार मुद्दामा विशेष अदालतले न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा साक्षी बुझ्ने आदेश दिएकोे विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।
नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेको साँगामा रहेको हदबन्दी छुट जग्गालाई कानुन विपरीत खरिद–बिक्री गर्न दिएको अख्तियारको आरोप छ। २०६६ माघ १८ मा मन्त्रिपरिषद् बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो। यसैगरी २०६६ चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।